राजनीति

सुर्खेतमा प्रहरीको आक्रमणबाट एमालेका दुई दर्जन बढी घाइते, प्रहरीबाट उग्र दमन भएको आरोप



सुर्खेत, १७ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै पछिल्लो तीन दिनदेखि आन्दोलित एमाले सुर्खेतका नेता तथा कार्यकर्तामाथि सुर्खेत प्रहरीले दमन गरेको छ ।

सुर्खेत प्रहरीले सोमबार वीरेन्द्रनगरमा राजनीतिक तथा नागरिक अधिकारको न्यूनतम् मूल्य मान्यता विपरित एमाले सुर्खेतको पूर्व निर्धारित कार्यक्रम माथि नियोजित तरिकाले आक्रमण गरेर दुई दर्जन नेता तथा कार्यकतालाई घाईते बनाएको हो । घाईते एमालेका नेता तथा कार्यकर्ताहरु वीरेन्द्रनगर स्थित विभिन्न सरकारी तथा निजी अस्पतालसँगै आफ्नै घरमा उपचाररत रहेको एमाले सुर्खेतले जनाएको छ ।

सोमवारको पूर्व निर्धारिर्त कार्यक्रम सक्काएर एमाले सुर्खेत पाटी कार्यालयको ढोका अगाडि आफ्ना नेता तथा कार्यकर्तालाई धन्यवाद दिने क्रममा एक्कासी सुर्खेत प्रहरीको बर्वरतापूर्ण आक्रमणले एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहनसिंह बडुवाललगायत दुई दर्जन बढी एमाले कार्यकर्ता घाईते भएका छन् ।

प्रहरीको आक्रमणबाट घाईते भएका नेता तथा कार्यकर्ताहरुले विना कारण एमालेका नेता तथा कार्यकर्ता माथि लाठीचार्ज गर्नु मानव अधिकार माथिको बर्वरतापूर्ण आक्रमण भएको उनीहरुको ठहर छ । उनीहरुले प्रत्यक्षदर्शी आम जनसमुदाय, पत्रकार तथा मानवअधिकारकर्मीलाई सुर्खेत प्रहरीले एमालेका कार्यकर्ता तथा नेता माथि गरेको बर्बरतापूर्ण दमन तथा अत्याचारलाई कुनैपनी डर, धम्की र त्रास विना नै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।

यता सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा सोमबार साँझ भएको एमालेको मसाल जुलुसका क्रममा प्रदर्शनकारीको मुक्का प्रहारबाट प्रहरी निरीक्षक राजन भट्टराईको दाँत भाँचिएको जनाएको छ। ‎प्रहरीले भिडको सुरक्षा व्यवस्थामा खटिएका आफ्ना प्रहरी निरीक्षकको दाँत भाँच्ने एमाले कार्यकर्तालाई खोजी गरिरहेको बताएको छ।