Banner News

म पार्टीको कुनै समूहमा छैन : शेखर कोइराला



काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभामा उनले सामाजिक सञ्जालमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकामा आपत्ति समेत जनाए ।

उनले भने, “म कुनै यो ग्रुपमा, त्यो गु्रपमा छैन । तपाईंहरू स्पष्ट हुनुपर्‍यो यो कुरामा,” “मानिसहरूले, साथीहरूले यही कोठामा, यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेखेको मैले देखेको छु ।”

उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने रहेको बताए । त्यसनिम्ति अन्तिमसम्म प्रयास गर्ने उनले उल्लेख गरे । कांग्रेसलाई एकढिक्का बनाएर आउँदो निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफनो इच्छा रहेको उनको भनाइ थियो ।

उनले भने, “नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु,” “त्यो तपाईंहरू ढुक्क हुनुहोस् ।”