राजनीति

कूटनीतिक शिष्टाचारबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण



काठमाडौँ, २५ चैत । मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे प्रशिक्षित गरिएको छ । 

प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्का १५ जनालाई प्रशिक्षण दिएको हो । आज एक कार्यक्रम आयोजना गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रशिक्षण दिएको हो । 

राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन र नेपालको परराष्ट्र प्राथमिकताबारे मन्त्रीहरूलाई प्रशिक्षण दिएका थिए । 

साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।