काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै बाधा पर्न नदिन यो कदम चालिएको उल्लेख छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ । आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।










प्रतिक्रिया दिनुहोस्