काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन् ।
मौरिसको पोर्ट लुइसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले पश्चिम एसियामा द्वन्द्वको असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएको र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पार्दा हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको बताए ।
उनले भने, “मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन् । उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो”, ।
उनले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको बताए।
नेपाल संयुक्त राष्ट्रसंघीय कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको र यसप्रति प्रतिबद्ध रहेको उनले बताए । मन्त्री खनालले भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताए ।










प्रतिक्रिया दिनुहोस्