राजनीति

प्रधानमन्त्री शाह जनताप्रति उत्तरदायी देखिएनन् : महासचिव पोखरेल



काठमाडौँ, २८ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको बताएका छन् ।

आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसदमा केहि नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए ।

जनताको सार्वभौम सत्ताको प्रयोग जननिर्वाचित संसदमा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वच्छाचारी शासनको संकेत भएको उनको भनाइ छ । त्यस्तै, महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए ।

पुरानालाई नभई नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र विकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेतामाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उनले बताए । महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैँले गरेका वाचा कबुल अन्तर्गत पारदर्शितालाई आत्मसात् गर्न नसकेको आरोप लगाए ।