काठमाडौँ, ३० चैत । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार्न सरकारले सक्रियता बढाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारी कामकाजमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन इन्टरनेट सेवालाई थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्न जोड दिए । कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनको निर्देशन छ ।
सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले जिम्मेवारी र जबाफदेहिता बढाउनुपर्ने बताए । साथै, प्राविधिक र मानवीय कमजोरीका कारण इन्टरनेट काटिने समस्या अन्त्य गर्न नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्