राजनीति

विकल्पको खोजीमा देश प्रयोगशाला बन्यो : पूर्वराजा शाह



काठमाडौँ, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सधैँ विकल्पको खोजीमा लाग्दा प्रयोगशाला बन्न पुगेको बताएका छन् । 

शाहले नयाँ वर्ष ०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन् । साथै, मुलुकलाई सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै प्रयोग गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । 

उनले भनेका छन्, ‘‘दलदलको खलबलमा धेरै दुगुर्‍यौँ । तर, राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप देश प्रयोगशाला मात्रै भयो,” ‘‘स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’’

साथै, शाहले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । राजनीतिक राज्यपद्धति र शासन प्रणालीमा निकै हेरफेर गरिएको भए पनि कोरा परिवर्तन मात्र भएको शाहको भनाइ छ ।