काठमाडौँ, ३० चैत । नेपाल सरकारले आगामी वैशाख २ गते (१५ अप्रिल २०२६) काठमाडौँको टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ विशेष समारोहका साथ मनाउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रमलाई सभामुख डोल प्रसाद अर्यालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ । शाही सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने उक्त समारोहमा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण कदमहरू चालिने भएका छन् । कार्यक्रमका दौरान ‘वेलनेस टुरिज्म स्ट्र्याटेजी’ विशेष भिडियो र लोगो सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ। साथै, सन् २०२७ लाई आधिकारिक रूपमा Nepal Wellness Year 2027 काे घोषणा गर्ने तयारी समेत गरिएको छ।
योग र ध्यानको विशेष सत्र कार्यक्रमको तालिका अनुसार बिहान ७:३० बजे मन्त्रोच्चारणबाट समारोहको शुभारम्भ हुनेछ। त्यस लगत्तै सहभागीहरूका लागि विशेष योग तथा ध्यान सत्र सञ्चालन गरिनेछ । कार्यक्रमका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश)ले समापन मन्तव्य राख्नुहुने तालिका रहेको छ ।
आयोजकले वातावरणीय सचेतनाका लागि कार्यक्रममा सहभागी हुने सबैलाई प्लास्टिकका बोतल नलिन र आफ्नै ‘नन-प्लास्टिक’ बोतल बोक्न अनुरोध समेत गरेको छ। साथै, कार्यक्रममा उपस्थित हुने महानुभावहरूलाई सहज पोशाक र आफ्नै ‘योग म्याट’ सहित उपस्थित हुन समेत सूचित गरिएको योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले जानकारी गराएका छन् । यस कार्यक्रमले नेपाललाई विश्व मानचित्रमा आध्यात्मिक र शारीरिक आरोग्य (Wellness) को केन्द्रका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।










प्रतिक्रिया दिनुहोस्