काठमाडौँ, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक र नागरिकको हितबाहेक राज्यको अर्को कुनै स्वार्थ हुन नहुने कुरामा जोड दिएका छन् ।
नव वर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश जारी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले निष्ठावान रहन देशवासीलाई आह्वान गरेका छन् । राष्ट्रपतिले जुनसुकै कठिन परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने दृढ संकल्प गर्न सम्पूर्ण नेपालीलाई अपिल समेत गरेका छन् ।
उनले हाम्रा गौरवमय परम्परा र संस्कृतिले नै हामीलाई उन्नत भविष्यतर्फ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि देशले नयाँ जनादेश पाएको र यसले विधिको शासन, सुशासन र समृद्धिको जनचाहनालाई स्पष्ट पारेको उनको भनाइ छ ।
नयाँ वर्षले सबै नेपालीमा परस्पर विश्वास र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने शक्ति प्रदान गरोस् भन्दै उनले सबैको सुख, शान्ति र दीर्घायुको कामना गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्