राजनीति

नयाँ वर्षले जीवनमा अनुशासन र स्थिरता ल्याउने उपराष्ट्रपति यादवको विश्वास



काठमाडौँ, १ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन् ।

नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि संकल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। नयाँ वर्षले व्यक्तिगत जीवनमा अनुशासन र स्थिरता ल्याउने विश्वास उनले व्यक्त गरेका छन् ।

आफ्नो सन्देशमा उपराष्ट्रपतिले तराई–मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ लगायतका मौलिक पर्वहरूको चर्चा गरेका छन् । साथै काठमाडौँ उपत्यकाको प्रसिद्ध ‘विस्का जात्रा’ को पनि उनले विशेष स्मरण गरेका छन् । यी पर्व र जात्राहरूले नेपालीहरूबीच आपसी मेलमिलाप र सद्भाव बढाउनुका साथै नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक गौरवलाई विश्वसामु उजागर गर्ने उनले बताए ।