काठमाडौँ, १ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा परम्परागत राजनीतिक शक्तिहरूको अन्त्य भई नयाँ पुस्ताको उदय भएको दाबी गर्दै अब एक्काइसौं शताब्दी सुहाउँदो ‘वैज्ञानिक मानववाद’ र ‘समुन्नत समाजवाद’ को बाटोमा हिँड्नुपर्ने बताएका छन् ।
भारतको आइटीएम विश्वविद्यालयले आयोजना गरेको ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले प्रविधि र मानवीय मूल्यमान्यतालाई जोडेर नयाँ विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
डा. लोहियाको भावनाअनुरूप न्याय र समानताको पुनर्कल्पना गर्दै उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनदेखि विश्वव्यापी आर्थिक तथा जातीय असमानताका विषयमा आफ्नो विस्तृत धारणा राखे । यसक्रममा नेपालमा हालै जेनजीले गरेको शक्तिशाली प्रदर्शनले दुई ठूला दलको गठबन्धन सरकारलाई ढालेको प्रसंग निकाल्दै भट्टराईले युवाहरूको हस्तक्षेपलाई ऐतिहासिक मोडको संज्ञा दिए ।
डा. लोहियाको प्रसिद्ध भनाइ ‘जिउँदा जातिहरू चुनावका लागि पाँच वर्ष पर्खिंदैनन्’ भन्ने भनाइलाई उद्धृत गर्दै उनले नेपालका युवाहरूले भ्रष्टाचार, कुशासन र बढ्दो आर्थिक खाडलविरुद्ध चुनाव नपर्खिई आफ्नो सम्पूर्ण शक्तिसहित हस्तक्षेप गरेको बताए । ३५ वर्षीय युवा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुनु र २६ वर्षीया रुबी कुमारी ठाकुर संसद्को उपसभामुखमा निर्वाचित हुनुलाई उनले नेपालको नयाँ राजनीतिक कोसेढुंगा भएको दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्