राजनीति

ओली र लेखकविरूद्वको प्रमाण जुटाउन प्रहरीलाई ६ बुँदे निर्देशन



काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको ज्यानसम्बन्धी कसुरको जाहेरीमा घटनास्थल सबुत प्रमाण संकलन गर्न सरकारी वकिल कार्यालयबाट प्रहरीलाई निर्देशन गएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला प्रहरी परिसरलाई घटनास्थलबाट सबुत–प्रमाण संकलन गर्न निर्देशन दिएको हो । ओली र लेखकको  रिहाइका लागि दायर भएको बन्दीप्रत्यक्षकरण रिटमा सर्वोच्च अदालतले गत चैत २३ गते थुनाका लागि शर्त तोकेर हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि सरकारी वकिल कार्यालयले अनुसन्धान र अभियोजनको कारबाहीका लागि घटनास्थल सबुद प्रमाण जुटाउन प्रहरीलाई बुँदागत निर्देशन दिएको हो । प्रहरीले अहिलेसम्म जाँचबुझ प्रतिवेदन र पुरुषोत्तम खतिवडा खत्रीसमेतको जाहेरीले भदौ २३ को घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ  । 

सरकारी वकिल कार्यालयबाट प्रहरीलाई दिएको ६ बुँदेनिर्देशन

१. अनुसन्धानका लागि जेनजी आन्दोलनकाक्रममा भदौ २३ गतेको घटनामा घाइते व्यक्तिहरुलाई बुझ्ने,

२. त्यसदिन संसद् भवन आसपास, नयाँ बानेश्वर क्षेत्रलगायतका सीसीटीभी फुटेज संकलन गर्ने,

३. मृतकको शव परीक्षण मुचुल्काको प्रतिवेदन,

४. घटना थाहा पाएका प्रत्यक्षदर्शीको कागजात गर्ने,

५. मृतकका आफन्त तथा घाइतेसँग घटनाको विषयमा बुझ्ने,

 ६. प्रमाण बुझ्नेक्रममा नयाँ तथ्य आएमा त्यसलाई समेत अनुसन्धानमा समेट्न