राजनीति

सुनिता डङ्गोल र प्रहरी प्रमुख कार्कीबीच छलफल



काठमाडौँ, ३ बैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल  र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो । 

भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ’ उनले थप्दै भनिन्, ‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ । यसले नागरिकहरूले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ ।’ 

त्यसक्रममा महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । ‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ’ उनले थप्दै भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।’