काठमाडौँ, ५ बैशाख । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल आउँदै छन् ।
१३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने प्रयासस्वरूप काठमाडौँ भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन् । वासिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीले कपुर तीनदिने भ्रमणका लागि काठमाडौँ आउन लागेको पुष्टि गरेका छन् ।
उनीहरूका अनुसार कपुरले नेपाल भ्रमणका क्रममा सरकारका प्राथमिकताहरू सुन्नेछन् र त्यसमा वासिङ्टनले के कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । भ्रमणको औपचारिक घोषणा भने भएको छैन । सहायक विदेशमन्त्री कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि काठमाडौँ आउन लागेका छन् ।
काठमाडौँ बसाइका क्रममा कपुरले राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने–नगर्नेबारेमा केही बताइएको छैन । एक सरकारी अधिकारीका अनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहसँग भेट–नहुनेबारे प्रष्ट छैन ।
सरकारी अधिकारीहरूसँग भेटमा काठमाडौँस्थित अमेरिकी कूटनीतिज्ञहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको द्रुत र सहज कार्यान्वयन, नेपालमा झन्झटमुक्त लगानी र सूचना प्रविधि कम्पनी कोटिभिटी र कोकाकोलाको कर विवादका समाधान, द्विपक्षीय व्यापारबारे चासो राख्ने गरेका छन् ।
नेपालमा रहेका तिब्बती शरणार्थीको हक अधिकारलाई पनि उनीहरूले प्राथमिकतासाथ उठाउने गरेका छन् । त्यस्तै इलन मस्कको स्टारलिंक इन्टरनेट सेवा नेपालमा विस्तारका विषयमा पनि उनीहरूले छलफलका क्रममा जोड दिने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्