काठमाडौँ, ६ बैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्