भक्तपुर, १८ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ६ स्थित वडा कार्यालयको खुल्लामैदानमा भएको कार्यक्रममा जनताको चासो, गुनासो, समस्या तथा समाधानको उपायसहितको भावी योजनाहरुको बारेमा विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइयो । स्थानीय चुनौती, सुशासन र समस्या तथा समाधानको उपायहरुको खोजिको रुपमा समेत उक्त कार्यक्रमलाई लिइएको छ । कार्यक्रममा वडामा निर्वाचित जनप्रतिनिधिले ४ वर्षको समिक्षा, सुझाव, असल अभ्यासका रचनात्मक तथा सकारात्मक प्रश्न, सुझाव तथा समस्याहरु लिइएको थियो । स्थानीय सरकार जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनताको माग र चाहना अनुसार कार्यसम्पादन हुनुपर्नेमा जोड दिइयो । सुनुवाईले जनता र जनप्रतिनिधिहरुका बिचको पुलको रुपमा काम गर्ने बताइयो ।
कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले वडामा चालु आर्थिक वर्ष एक सय वटा योजनाहरु स्वीकृत भएकोमा हाल ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । एकसय एक वटा घटना दर्ता गराइएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हालसम्म चालु आर्थिक वर्षमा वडाले ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । एक करोड ४७ लाख १३ हजार सात सय ३३ रुपैंया विभिन्न शिर्षकमा रावस्व संकलन भएको छ ।’ तेलकोट–नगरकोट सडक खण्ड कालोपत्रे भइरहेको जानकारी गराउँदै उहाँले नगरकोटमा खेलकुद कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । वडाले जेष्ठ नागरिक, अपाङ्गता, महिला, वालबालिकाको हित र अधिकारका पक्षमा विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु आयोजना गरिएको उल्लेख गर्दै उहाँले विपद् व्यवस्थापन तयारी पूर्ण रुपमा भइरहेको बताउनुभयो ।
वडाध्यक्ष धनबहादुर लामाले आफु निर्वाचित भएपश्चात विकास र सुशासनलाई एकै साथ कार्य गरेको उल्लेख गर्दै समृद्ध नगरकोटको कल्पनालाई सार्थकतामा पुर्याउन जनप्रतिनिधि तथा जनताको सहकार्यले सफलतामा पुग्ने बताउनुभयो । ‘कतिपय जनताले आशा र अपेक्षा गरिएको भन्दा बढी कामहरु भएका छन्, भने अझैं पनि धेरै कामहरु गर्न बाँकी छन्,’ उहाँले भन्नुभयो, ‘सिमित स्रोत र साधनका बाबजुत पनि वडावासीको भावनालाई समेट्ने प्रयास गरेका छौं, जनताको साथ–साथमा हामीसँगै छौं ।’
तीन वटै तहका सरकारको समन्वयमा वडामा वार्षिक करिव २० करोड बराबरका भौतिक विकास तथा अन्य सामाजिक विकासका कार्यहरु गरिएको उल्लेख गर्दै उहाँले पर्यटनको विकास नै नगरकोटको समृद्धिको आधारमा भएको बताउनुभयो । पर्यटकीय क्षेत्र नगरकोटलाई प्लास्टिकमुक्त बनाउने योजना भएता पनि उक्त योजना सफल भइनसकेको स्वीकार गर्दै उहाँले लोकल रक्सीलाई ब्राण्डीङ गर्न सके स्थानीयवासीको आर्थिक समृद्धि हुने दावी गर्नुभयो । भौतिक विकासलाई मात्र विकास मान्न नसकिने उल्लेख गर्दै उहाँले सामाजिक चेतनाको विकास र मानवीय विकास अपरिहार्य रहेको औंल्याउनुभयो ।
स्थानीयवासीले स्वागत गेन नबन्नुको कारण, काम गर्न बाँकी के के छन् ?, निर्वाचनको प्रतिवद्धता अनुसार बृद्ध भत्ता किन घरघरमा पुर्याउन सकिएन ? नगरकोटको सार्वजनिक भवनमा तामाङ संग्राहलय बनाउने योजना के भयो ? विद्यालय किन बन्द भयो ? सामुदायीक वनक्षेत्रका सुधारका कार्ययोजनाहरु के के छन् ? जग्गा पास गर्दा राजस्व बढी लागेको, प्लानिङकर्ताले सार्वजनिक जग्गा मासेकाले त्यसको संरक्षण गर्नुपर्ने, सार्वजनिक जग्गा व्यक्तिको नाममा कसरी गयो ? सुविधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्ने, नगरकोट भ्रमण वर्ष उपलब्धीमूलक भयो कि भएन ? खोला तथा कुलोहरु प्लानिङकर्ताले मासेको, सरसफाईका कार्यहरुलाई व्यापक रुपमा गर्नुपर्ने, प्रदुषण नियन्त्रण गर्नुपर्ने लगायतका प्रश्न, गुनासो तथा सुझावहरु प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा तथा पत्रकारहरुले समेत जनप्रतिनिधिको कार्यप्रति समग्र जनता सन्तुष्ट हुनु शुभ संकेत भएको बताए । वडाध्यक्ष उर्जाशील, जनपक्षीय, सर्वपक्षीय समन्वयकारी भएको उल्लेख गर्दै उनीहरुले वडाको क्षेत्रधिकारभित्र जनप्रतिनिधिले धेरै राम्रो कार्य गरेको भन्दैै जनताको मन जित्न सफल भएको भन्दै धन्यवाद दिए ।
जवाफमा नगरकोट प्रहरी प्रभागका प्रमुख शिव थपलियाले जनप्रतिनिधि र प्रहरीको उत्कृष्ट समन्वयमा नगरकोट क्षेत्रमा कुनै पनि अप्रिय घटना नघटेको, शान्ति सुरक्षा कायम भएको, समस्या आए १० मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुगी समस्या समाधान गर्ने गरेको तथा विपद् व्यवस्थापनका सम्पूर्ण कार्यहरु पूर्ण तयारी रहेको बताउनुभयो ।
प्रश्न, सुझाव तथा गुनासोपछि जवाफ दिँदै वडाध्यक्ष लामाले नगरकोटको समृद्धिको लागि सवैको सहकार्य अपरिहार्य भएको बताउनुभयो । नगरपालिकाको प्रवेशद्वार बनाउने निर्णय गरेकाले नगरकोट प्रवेशद्वार नबनेको जानकारी गराउनुभयो । कम्तिमा १० शैह्याको अस्पताल बनाउनेपर्ने आफ्नो जोड रहेको उल्लेख गर्दै उहाँले नगरकोटको स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्न प्रदेश सरकारबाट १५ लाख बजेट प्राप्त भएको र त्यो नपुग भएकाले जर्मन सरकारलाई समेत प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रविधिको विकास र सुशासन काययम गर्ने लक्ष्यका साथ बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारको नीतिका कारण् घरघरमा पुर्याएर वृद्धभत्ता वितरण गर्न सकिएको छैन । तर हामीले बैंकमा लाईन बस्नु नपरोस् भनेर वडाबाट नै वितरण गरिरहेका छौं । नगरकोटका सामुदायीक भवनमा संग्राहलय राख्न प्राविधिक रुपमा समस्या भएका कारण हाल उक्त भवन व्यवसायीक प्रयोजनको लागि भाडामा दिएका छौं । जसले वडाको आर्थिक वृद्धिमा थप टेवा दिएको छ ।’
वडामा सामुदायीक तथा संस्थागत गरी ११ वटा विद्यालयहरु रहेको जानकारी गराउँदै उहाँले चेतना आधारभुत विद्यालयमा विद्यार्थीको अभावका कारण बन्द गरिएको जानकारी दिनुभयो । वनलाई पर्यटनसँग जोड्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले जग्गा पासमा नगरपालिकाका सवै वडाहरुमा बराबर राजस्व नीतिगत रुपमा नै तोकिएको बताउनुभयो । चालु आवमा जग्गाको कारोवार कम भएका कारण राजस्व समेत कम उठेको बताउँदै उहाँले भ्रमण वर्ष सकिएको जानकारी गराउनुभयो । भ्रमण वर्षमा पहिलेभन्दा कम आन्तरिक तथा बाह्य पर्यटकहरु आएको जानकारी दिँदै उहाँले परिणामको भन्दा बढी गुणस्तरीय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत गर्नुभयो । त्यस्तै संस्थाका सल्लाहकार दिवश गुरागाईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सचिव हेमराज ढकालले कार्यक्रम संचालन गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्