राजनीति

काठमाडौँ महानगरपालिकाद्वारा ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन



काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ ।

काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिइन् ।

काठमाडौँ महानगरपालिका–२६ भित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासोलाई सम्बोधन गर्दै वडाले यस्तो कदम चालेको संयोजक प्रजापतिले बताइन् ।

“अठार वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन व्यवसायमा लगाउनु नेपालको कानुन अनुसार अक्षम्य र दण्डनीय अपराध हो, यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम ९निषेध र नियमित गर्ने० ऐनबमोजिम कडा कानुनी कारबाही गरिनेछ,” उनले भनिन् ।

काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरमा नियमित चेकजाँच गर्ने जनाएको छ । काठमाडौँ महानगरपालिकाले व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने बताएको छ ।