भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ७ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
क्रियाशील पत्रकार पञ्च भक्तपुर र सूर्यविनायक नगरपालिकाको आयोजनामा आज वडा कार्यालयको हलमा ‘जनप्रतिनिधिसँग वडावासीको आवाज’ भन्ने नाराका साथ भएको कार्यक्रममा वडाले चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनीक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरुलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरुलाई समेट्दै सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वडाका सचिव सूर्यवहादुर माकजुले वडाले आर्थिक वर्षमा गरिएका प्रशासनीक तथा सेवा प्रवाहरुको बारेमा विस्तृतमा उल्लेख गर्नुभयो । वडामा चालु आवमा नगरसभाबाट ५४ वटा योजनाहरु स्वीकृत भएको जानकारी गराउँदै उहाँले हालसम्म ५० वटा योजना सम्झौता भइ निर्माण कार्य भइरहेको, १४ वटा सम्पन्न, ३४ वटा चालु रहेको र दुई वटा सम्झौता भई कार्यशुभारम्भ नभएको जानकारी गराउनुभयो । त्यस्तै चार वटा योजना कोटेशनको माध्यमबाट सञ्चालन भइरहेको बताउनुभयो ।
वडामा विभिन्न प्रकारका लक्षित कार्यक्रमहरु आयोजना गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘वडाले जेष्ठ नागरिक, अपाङ्गता, महिला, दलित, बालवालिका लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । त्यस्तै बालबालिकाको लागि पञ्चवर्षिय लगानी योजना तयार गरेको छ । सडकमुक्त बालबालिका, बालबालिकालाई मदिरा तथा सूर्तिजन्य सामग्री विक्रि वितरणमा रोक, बालमैत्री वडा घोषणाका लागि सचेतनामूलक कार्य, वडा बाल सञ्जाललाई ट्र्याकसुट वितरण, तेस्रो वडा स्तरीय बाल हाजिरी जवाफ प्रतियोगिता, ४४ जना कृषकलाई इलेक्ट्रिक स्प्रेयर पम्प, एसइइ उर्तीण विद्यार्थीलाई सम्मान लगायतका कार्यहरु गरेका छौं ।’ उहाँका अनुसार वडामा नगरसभाबाट कार्यक्रम तथा योजनाको लागि रु दुई करोड, ६० लाख तथा विभिन्न मितिमा नगर कार्यपालिकाबाट स्वीकृत रु चार करोड ७३ लाख रकम विनियोजन भएको छ । त्यस्तै वडामा कृषकसँगको लागत साझेदारीमा फुलको विरुवा वितरण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण लगायतका सामाजिक कार्यहरु भएका छन् ।
कार्यक्रममा वडाबासीले आर्थिक, सामाजिक, प्रशासनिक, भौतिक पूर्वाधार विकास, धार्मिक, सांस्कृतिक, प्लानिङ, सडक, सार्वजनिक जग्गा संरक्षण, विद्यालय, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानीको उचित व्यवस्थापन, योगाको विकास र विस्तार, दुर्घटना न्युनिकरण, खेलमैदान निर्माण, स्थानीय स्वरोजगार कार्यक्रम गर्नुपर्ने, सेवा प्रवाह, तीनवटै तहका सरकारको समन्यवय लगायतका बारेमा चासो, गुनासो, प्रश्न तथा सुझावहरु राखेका थिए ।
जसमा स्थानीयवासी रामकृष्ण श्रेष्ठले वडाको विकास र समृद्धिमा तीनवटै तहको सरकारको समन्यव आवश्यकता रहे पनि संघीय सांसदले निर्वाचित भएपश्चात अनुहार नै नदेखाएको गुनासो गर्नुभयो । ‘२०७४ अघिका जनप्रतिनिधि र पछिका विकास जनताले हेरेका छन् तर जनताको विकासप्रतिको तिव्र चाहना पुरा हुन सकेन,’ उहाँले भन्नुभयो, ‘भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजिव खत्री कता हुनुहुन्छ ? सार्वजनिक कार्यक्रममा ल्याएर जनताको माझमा उभ्याउनु पर्यो, जसले गर्दा हाम्रो आवाज संघीय सरकारमा पुगोस् ।’
जवाफमा गुण्डू प्रहरी प्रभागका प्रमुख इन्द्र प्रसाद बोयजुले सडक दुर्घटना रोक्न मापसे चेकिङ गर्नु प्रहरीको जिम्मेवारी रहेको उल्लेख गर्दै परिस्थितीलाई मूल्याङ्कन गरी जनताको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो । ट्राफिक चेकिङ आवश्यकता अनुसार हुने उल्लेख गर्दै उहाँले लिखानारायण क्षेत्रमा विदाको समयमा हुने पिकनिकमा लुटपाट हुने भएकाले विशेष फोकस गरी शान्ति सुरक्षाका कार्यहरुमा ध्यान दिइएको बताउनुभयो ।
वडाध्यक्ष रविन्द्र सापकोटाले जेनजी आन्दोलनपछि वडाको प्रशासनिक तथा अन्य सेवा प्रभावहरुमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो । समस्या भएपनि छिटो र छरितो सेवा प्रभावहरुमा वडाले विशेष रणनीति बनाई १५ देखी ३० मिनेट भित्रमा सहज रुपमा सेवा प्रदान गरिरहेको दावी गर्नुभयो । त्यस्तै मूल्यवृद्धिका कारण भौतिक पूर्वाधारको कार्यहरुमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनताको अपेक्षा धेरै छन् तर हामीसँग स्रोत सिमित छ । त्यस्तैले अब नयाँ योजना शुरु गर्नेभन्दा पनि पुराना योजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने तयारीका साथ लागिरहेका छौं । जसको लागि संघीय सरकारको बजेटले हाल वडालाई छोएको छैन । अब प्रदेशको बजेट कस्तो आउँछ ? त्यहि अनुसार योजना बैंक तयार गरेर नगरबाट बजेट व्यवस्थापन गरी कार्यसम्पादन गर्नेछौं ।’
शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा लक्षित कार्य गर्ने उल्लेख गर्दै उहाँले बालमैत्री वडा घोषणा गर्न ८० प्रतिशत कार्यहरु सम्पन्न भइसकेको जानकारी गराउनुभयो । आवेग नभई विवेक प्रयोग गरी सहज र सुलभ सेवा प्रभावहरु नै अहिले प्राथमिकता रहेको बताउनुभयो । धार्मिक, कला, संस्कृति तथा व्यायम केन्द्रहरु आवश्यकता अनुसार थप गर्दै लैजाने प्रतिवद्धता जनाउँदै उहाँले इतिहास मेटेर विकास नगरिने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाँले वडामा एक वटा पनि प्लानिङका स्वीकृति प्रदान नगरिएको उल्लेख गर्दै स्मार्ट सिटीका कारण आठ आनाभन्दा कम कित्ता काट नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘वडाको सार्वजनिक जग्गा संरक्षण हुन्छ, भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाकै सवैभन्दा उत्कृष्ट वडा नं. ७ हो । जीपलाईन मुनिको प्लानिङ गरेको होइन । जग्गा नापेर मात्र प्रकृया अगाडी बढाउन भनिएको छ । स्वीमिङ पुल संघीय सरकारको पर्यटन मन्त्रालय अन्तरगतको बजेटबाट बनेको हो । जहाँ पार्क सहित बन्ने भनेर बहुआयामिक तरिकाले पर्यटन प्रवद्र्धन गर्ने योजना थियो । जसमा वडाले सिमाङ्कन मात्र गरेको हो । अहिले संघीय सरकारको प्राथमिकतामा नपरेर अवमूल्यन भएको हो । बजेट आउँदा समन्वय, पहल र पहुँचका आधारमा हुने भएकाले राजनीतिक अस्थिरतका कारण विकासमा प्रत्यक्ष रुपमा असर परेको छ ।’
प्राणी उद्यानभित्र चलचित्र सुटिङ गर्न दिने वा नदिने भन्ने वडाको क्षेत्राधिकार नभई संघीय सरकारको भएको उल्लेख गर्दै उहाँले योग प्रवद्र्धनको लागि नगरपालिकाले नीतिगत व्यवस्था गर्ने बताउनुभयो । सडकमा गिटी तथा बालुवा लगायतका सामाग्रीहरु राख्न नपाउने स्पष्ट पार्दै उहाँले सो कार्य गरे कारवाही गर्नु चेतावनी दिनुभयो । घर निर्माण गर्दा सडकलाई असर पुर्याउनु नहुनेमा सचेत हुन आग्रह गर्दै उहाँले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजनावद्ध लाग्नुपर्नेमा जोड दिँदै उहाँले सामुदायीक भवनमा खानेपानीमा काम गर्ने मजदुरलाई निर्माणको क्रममा एक महिना बस्न दिएको बताउनुभयो । घ्याम्पेडाँडाको विद्यालय विद्यार्थी नभएका कारण मर्ज गरिएको उल्लेख गर्नुभयो ।
मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पुस्करराज बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य उमेश कार्की, समुन परियार, वडासदस्य गिता बस्नेत, सन्तोसी नेपाली, विभिन्न दलका प्रतिनिधि, विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्