राजनीति

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति यादव



काठमाडौँ, २२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण गर्नु सामूहिक जिम्मेवारी भएको र वर्तमानलाई सुरक्षित राख्दै भविष्यलाई उज्ज्वल बनाउन सबैको दृढ सङ्कल्प तथा प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् । वृक्षारोपण, वन विस्तार, हरित गृह ग्यास नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रयोग र वातावरणमैत्री जीवनशैली अपनाउनु हाम्रो साझा दायित्व भएको उनको भनाइ छ । दिवसले जल, जमिन र जङ्गल जोगाउने हाम्रो साझा सङ्कल्पलाई बलियो बनाउने उपराष्ट्रपति यादवले विश्वास लिएका छन् ।

उनले भने, “पछिल्लो समय विश्व जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको क्षयीकरण र फोहर मैला व्यवस्थापनजस्ता गम्भीर सङ्कटको सामना गरिरहेको अवस्था छ, यी चुनौतीबाट विशेष गरी ग्रामीण समुदाय, साना कृषक तथा विपन्न वर्ग बढी प्रभावित छन्, यसबाट उन्मुक्तिका लागि हामी सबैले हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य छ ।”