काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन् ।
भारतीय च्यानल ‘एनडिटिभी’सँग शनिबार विशेष संवाद गर्दै उनले दुई देशको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न सरकार तत्पर रहेको बताए । नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्काको देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राखे ।
मन्त्री खनालले भने, “हामीले विगतका कुरा लिएर आएका छैनौँ । विगतमा हामीले दुई ठूला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो, त्यति सकेनौँ । अब पारस्परिक लाभ, सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौँ । हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ ।”










प्रतिक्रिया दिनुहोस्