राजनीति

संसद्‌मा अडान कायम राख्ने विपक्षी दलको निर्णय



काठमाडौँ, २६ जेठ । विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने अडानमा कायम रहने निर्णय गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक बसेको थियो । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षीले सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले त्यसबारे बोल्नुपर्ने, उनले अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने अडान विपक्षीको छ । 

कांग्रेसका सचेतक निश्कल राईले भने, “सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो । हामी हाम्रो अडानमा कायम रहने निर्णय भयो ।” 

रास्वपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिने, आवश्यक परे आफैँ बोल्ने बताएका थिए । त्यसमा विपक्षी सहमत भएनन् ।