राजनीति

पार्टीभित्रको फोहोर सफा गरौँ: सभापति थापा



गोरखा, २७ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको पार्टीभित्रको फोहोर सफा गरेर पार्टीसँग जनता मिलाउने हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस गोरखा जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको भेटघाटमा सभापति थापाले कसैले पार्टी छाडेर जान्छन् भने जान दिनुस्, नफकाउनसम्म भन्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई ठिक बनाउनेतिर लाग्न उनले आग्रह गरे । उनले आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताए ।

उनले भने, “हाम्रो मन्त्र अब नेता मिलाउने होइन, पार्टीसँग जनता मिलाउने हुनुपर्छ । विशेष महाधिवेशन एउटा सन्दर्भमा भएको हो, यसमा को हुनुहुन्थ्यो को हुनुहुन्नथ्यो भन्ने विषय सक्कियो, सबैलाई मिलाएर जान्छु । एक–दुईजनाले खुट्टा उचाले भन्दैमा चिन्ता नगर्नुस् । फकाउनतिर पनि नलाग्नुस् । पार्टीभित्रको फोहोर सफा गरौँ, पार्टीको दृष्टिकोण ठिक बनाऔँ । हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको थियो । त्यसलाई सम्हालौँ । सत्ता–सत्ता–सत्ता भनेर बिग्रिएका छौँ, जनता भन्ने ठाउँमा पुर्‍याऔँ । आफैँ सबै ठिक हुन्छ । कुहिनोले भित्तै फोड्छु, घरै भत्काउँछु भन्नेहरूसँग त मैले केही गर्न सक्दिन । नेता रिसाउनुभयो भन्ने कुराको चिन्ता होइन । ठूलो चिन्ता भनेको जनता रिसाएको हो । नेता धेरै फकाउँदै गर्दा जनता फकाउन सकेन भने अर्थ हुँदैन ।”

संस्थापन पक्षले सातै प्रदेशमा भेला गरिसकेको छ । उता, इतर पक्षले अब कोसी, मधेस र लुम्बिनी प्रदेशमा भेला गर्न बाँकी छ । अन्य चार प्रदेशमा इतर पक्षले भेला गरिसकेको छ ।

कोसीमा जेठ ३१ गते नियमित महाधिवेशन पक्षधर सबै मिलेर भेला आयोजना गर्ने ती नेताले बताए । उनका अनुसार, ३१ गतेको भेलामा डा. शेखर कोइराला पक्षको पनि सहभागिता रहनेछ । मधेसमा इतर पक्षले जेठ २८ गते भेला आयोजना गर्ने भएको छ । लुम्बिनीको मिति त्यसपछि तोकिने बताइएको छ । इतर पक्षका युवा नेताहरूले काठमाडौंमा जेठ २९ गते बृहत् छलफल गर्ने तयारी गरेका छन् ।