काठमाडौँ, २७ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो ३ दिने भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन्।
उनले आफ्नो भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेको बताए। उनले आफ्नो भारत भ्रमण दुई देशबिचको सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको पनि बताए।
भ्रमणका क्रममा दुई पक्षबिच रहेको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी पनि उनले दिए।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको उनले दोहोर्याए ।
सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराए ।
प्रधानमन्त्रीले १८१६ को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रस्ट पारे । सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनुपर्नेमा सरकार अडिग रहेको उनको तर्क थियो ।
यसैगरी ‘दशगजा’ क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्भे टिमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताए। सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढङ्गले समाधान गर्न र दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनले सदनलाई विश्वास दिलाए।










प्रतिक्रिया दिनुहोस्