राजनीति

टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको हो : मन्त्री पुन



काठमाडौँ, ४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले महावीर आएर यो मन्त्रालय पहिलोपटक बनाइएको भन्ने भ्रम रहेको बताए । ०५३ सालमा बनाइएको मन्त्रालय पछि अरूमा गाभिएको उनको भनाइ थियो ।

“टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको हो, सातौं पुनर्जन्म हो,” उनले भने ।

नवप्रवर्तन मन्त्रालयलाई आउँदो आर्थिक वर्षमा छुट्ट्याइएको बजेटबारे उनले भने, “चार अरब छुट्ट्याइएको छ । त्यसमा पनि साढे तीन अरब अबन्डामा छ ।” 

उनले  देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको बताएका छन् । “म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो भन्ने गीत पहिला खुब गाइन्थ्यो,” उनले भने ।

देशसँग आफ्नो पिरती बस्नुको कहानी लामो रहेको उनले उल्लेख गरे । उनले आफू ‘जोगी’ रहेको समेत बताए ।

“म पनि सांसद, मन्त्री हुुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो । लामो कहानी छ । मेरो पिरती देशसँग बसेको हो । सुरुमा देशसँग बसेको होइन, अमेरिकाबाट घुम्न एकदुई वर्ष भनेर आएको मान्छे गाउँसँग पिरती बस्यो,” उनले भने, “गाउँबाट जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले म अहिले जोगी भएँ । म व्यावहारिक रूपमा पनि जोगी नै हो ।”