Banner News

चिया निर्यातमा देखिएको अवरोध छिट्टै समाधान हुन्छ: मन्त्री खनाल



काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री खलालाई भेट्न बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन उनलाई अनुरोध गरेको थियो । सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिए ।

उनले भने, “चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ । समस्याको निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ ।”

महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँ व्यक्तिको जीविकोपार्जनमा असर पर्ने जानकारी गराउँदै सक्दो चाँडो समस्या समाधानका लागि मन्त्री खनालसमक्ष आग्रह गरे ।