विश्व

अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध



एजेन्सी, ५ असार । अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाको नयाँ आदेशपछि देशका विभिन्न क्षेत्रमा सरकारी कर्मचारीहरूले स्मार्टफोन प्रयोग बन्द गर्न सुरु गरेका छन् ।

सामाजिक सञ्जालमा अफगानिस्तानको सर्वोच्च अदालतको प्रतीक चिह्न अंकित एक पत्र सार्वजनिक भएको छ, जसअनुसार सैन्य तथा नागरिक दुवै निकायका साना–ठूला सबै सरकारी कर्मचारीहरूका लागि १७ जुनदेखि कार्यालयभित्र स्मार्टफोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यद्यपि, बुधबार दिउँसोसम्म केही केन्द्रीय सरकारी निकायहरूले आफ्ना ह्वाट्सएप समूहहरूमार्फत सूचनाहरू आदान–प्रदान गरिरहेको देखिएको थियो ।

यस निर्णयबारे तालिबानका प्रवक्ताहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर, गजनी प्रान्तमा भने यो आदेशको प्रभाव मंगलबार साँझदेखि नै देखिन थालेको थियो ।

गजनीको खानी तथा पेट्रोलियम विभागका एक अधिकारी इरफान अन्दारहले ह्वाट्सएप समूहमार्फत जानकारी दिँदै बुधबारदेखि कार्यालय परिसरभित्र स्मार्टफोन प्रयोग निषेध गरिएको बताएका छन् ।

उनका अनुसार कर्मचारीहरू अब सामान्य टेलिफोन कल तथा इमेलमार्फत मात्र सम्पर्कका लागि उपलब्ध रहनेछन् ।

आदेशअनुसार यदि कुनै कर्मचारी कार्यालयभित्र स्मार्टफोन प्रयोग गरेको अवस्थामा भेटिएमा उसलाई तत्काल जागिरबाट बर्खास्त गरिने बताइएको छ । साथै, त्यस्ता कर्मचारीविरुद्ध कानुनी कारबाही समेत अघि बढाइने पत्रमा उल्लेख गरिएको छ ।