Banner News

मेसीले रचे इतिहास: बने विश्वकपकै उच्च गोलकर्ता



काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् ।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध टोलीका लागि सुरुआती गोल गर्दै ३८ वर्षीय मेसीले यो ऐतिहासिक सफलता हात पारेका हुन् । आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा गोल सङ्ख्या १८ पुगेको छ ।

खेलको ३८औँ र इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल गर्दै उनी पुरुष र महिला दुवै विश्वकपको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले ब्राजिलकी महान् महिला खेलाडी मार्ताको १७ गोलको कीर्तिमानलाई पछि पारेका हुन् ।

यसअघि गत साता अल्जेरियाविरुद्ध ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले देशका लागि २०१ खेल खेल्दै १२१ गोल गरिसकेका छन् । उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् ।

विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा क्लोज (१६ गोल) दोस्रो, ब्राजिलका रोनाल्डो (१५ गोल) तेस्रो तथा जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे (१४–१४ गोल) चौथो स्थानमा छन् । अस्ट्रियामाथिको जितसँगै अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।