एजेन्सी, १६ असार । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले एक गाला कार्यक्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीव्र राजनीतिक हमला गरेका छन् ।
वासिङ्टन डीसीमा ट्रम्पले अघि सारेका योजनाहरूलाई आधार बनाउँदै बाइडेनले आफ्ना उत्तराधिकारी ट्रम्पलाई ‘लुजर’ (हरुवा) को संज्ञा दिएका हुन्।
मेरिल्यान्डको ह्यानोभरमा आयोजित डेमोक्रेटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा बोल्दै बाइडेनले ट्रम्पको १० मिनेट लामो कडा आलोचना गरे। उनले ह्वाइट हाउसमा बलरुम निर्माण गर्ने ट्रम्पको योजना र सहरको रिफ्लेक्टिङ पुल जीर्णोद्धारमा अपनाइएको प्रवृत्तिको विशेष विरोध गरे। बाइडेनको यो अभिव्यक्तिलाई अहिलेसम्मकै सबैभन्दा सिधा र तिखो प्रहारका रूपमा हेरिएको छ।
कार्यक्रममा बाइडेनले ट्रम्पका योजनाहरूमाथि व्यङ्ग्य गर्दै भने, ‘यो उनको घमण्डी योजना मात्र होइन, आफ्नै बलरुमका लागि ठाउँ बनाउन ह्वाइट हाउसको इस्ट विङ भत्काउनु, केनेडी सेन्टरमा आफ्नो नाम राख्नु, आफ्नै सम्मानमा एउटा भ्यू–टावर (आर्च) बनाउनु र रिफ्लेक्टिङ पुल मर्मत गर्न आफ्नै मान्छे नियुक्त गर्नेसम्मका काम हुन्।’
बाइडेनले सन् २०२१ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गर्ने ट्रम्पका समर्थकहरूको बचाउ गरेकोमा पनि आपत्ति जनाए। अमेरिकी सञ्चारमाध्यमका अनुसार बाइडेनले भने, ‘मलाई रिस त यसमा उठ्छ कि ट्रम्प करदाताहरूको पैसा, अर्थात् तपाईंको पैसा जनवरी ६ का दङ्गाकारीहरूलाई दिन चाहन्छन्।’ बाइडेनको यो टिप्पणी ट्रम्प प्रशासनले हालै गरेको त्यो प्रयासतर्फ लक्षित थियो, जसमा सरकारद्वारा अन्यायपूर्ण रूपमा निशाना बनाइएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि सारिएको थियो, तर पछि एक न्यायाधीशले त्यसलाई खारेज गरिदिएका थिए।










प्रतिक्रिया दिनुहोस्