काठमाडौँ, १७ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन् ।
प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले लिएका लक्ष्यहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले १०० दिनभित्र ठोस परिणाममुखी कामहरू फत्ते गरेको जानकारी दिनुभयो। देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आम नागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उक्त विवरणमा विभिन्न ऐन-नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू समेटिएका छन्। सरकारको सय दिने कार्यकालको उपलब्धि मूल्यांकनका आधारमा आगामी दिनमा मन्त्रालयले आफ्ना कामकारबाहीलाई थप गति दिने प्रतिबद्धता समेत जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्