विश्व

‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने मोदीको घोषणा



काठमाडौँ, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्। 

प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्।

बिहीबार राति ११:५२ बजे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत २ मिनेट ५६ सेकेन्डको भिडियो सार्वजनिक गर्दै मोदीले भने, ‘पेपर लीक कुनै सामान्य विषय होइन। यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि निकै पीडादायी छ। त्यसैले हामीले दोषीहरूलाई कडा सजाय दिन फास्ट ट्रयाक कोर्ट बनाउने निर्णय गरेका छौं।’
प्रधानमन्त्रीका अनुसार सम्बन्धित विभागहरूले तयार पारेको मस्यौदामा फास्ट ट्रयाक कोर्ट र कठोर सजायका प्रावधानहरू समावेश छन्। यस मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ। नयाँ कानुनले प्रश्नपत्र बाहिरिने घटनामा संलग्न गिरोहलाई १० वर्षसम्मको जेल र १ करोड भारुसम्मको जरिवाना गर्न सक्ने प्रावधान राख्ने तयारी गरिएको छ।