राजनीति

सरकारले जनविरोधी कदम चाल्दै छ: अध्यक्ष घिसिङ



काठमाडौँ, २३ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गर्दै सरकारको यो कदमलाई जनविरोधी चालको भन्दै आक्रोस जनाएका छन् । 

यसअघि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको उल्लेख गर्दै अध्यक्ष घिसिङले कृषि सिँचाइका लागि विद्युत् निःशुल्क, अत्यावश्यक क्षेत्रमा सहुलियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुर्भाग्यपूर्ण भएको बताए । 

उनले भनेका छन्, ‘सरकारले कृषकको सिचाई गर्ने विधुत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विधुतमा झन् १३ प्रतिशत भ्याट लगाएछ । हामीले सिचाईको महशुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिव २ रूपैंया प्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैंयबाट करिव ४ रूपैंया २० पैसा प्रति युनिट कायम गरेका थियौं । कृषि सिचाईको लागि बिधुत निशल्कै गर्दा पनि हुन्छ । यस्ता अत्यावश्यक क्षेत्रमा सहुसियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ । कृषकको मल, वीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सवैको भाउ बढेको बढै छ । त्यसमाथि विधुतमा पनि भ्याट । तर उत्पादित वस्तुको मुल्य अझ घटाएर वेच्नु परेको छ । कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिदैन । गाउगाउमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ ।

यस्तै घरघरमा ग्यास अभाव छ । यस्तो वेलामा विधुतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नु पर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विधुतमा भ्याट । ग्यास सिलिण्डर होईन अव ईन्डक्सन चुल्हो बांड्ने स्किम सरकारले ल्याउनु पर्छ । देशमा उत्पादित विधुत खेर फाल्ने अनि ग्यासमा लाईन लगाउने। यो कस्तो विडम्वना । हाम्रो विधुतीय पूर्वाधार जति ईन्डक्सन वाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा छ । केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधकरणले विकास गरिसकेको छ । मेरो घरमा भान्सा र गाडी सवै विधुतबाटै चल्छ । अव सवैको घरघर विधुतबाट चलाऔं । देश आत्म निर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ । विदेशी मुद्र संचिति बढ्छ ।

तसर्थ सरकारले विधुतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोड्दार माग गर्दछौं । यस्को सट्टा डेडिकेटेड र ट्रंक लाईनको अर्वौंको वक्यौता उठाउन त्तकाल कदम चालियोस् ।’