राजनीति

राप्रपाका एउटै गाउँपालिकाका ३३ जनाद्वारा राजीनामा



नुवाकोट, पञ्चकन्या गाउँपालिकाका ३३ पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले एउटै विचार, सिद्धान्त र एजेन्डामा कटिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै राजीनामा दिनेहरुमा पञ्चकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन् । 

राप्रपाबाट अलग हुनेमा पञ्चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मनोज कुमार राई, वडा नं ३ का अध्यक्ष राजु कार्की, वडा नं ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं ५ का अध्यक्ष कर्णप्रसाद सिटौलालगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन् । स्रोतका अनुसार राप्रपा परित्याग गर्नेहरू डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुनेछन् ।