Banner News

सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ : गगन थापा



काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि बढ्ने बताउँदै पुराना दलहरूले गरेको गल्ती र भोगेको सङ्कट नदोहोर्‍याउन नयाँ राजनीतिक शक्तिहरूलाई सुझाव दिएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् । संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गर्दै विगतमा कांग्रेस-एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनले उल्लेख गरे।

उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग भएको शक्ति र प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ । नयाँ साथीहरूले पनि हामीले भोगेको कुरा फेरि किन भोग्नुहुन्छ ? म त बारम्बार भनिरहेको छु, कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस्, अब नेपालले थेग्न सक्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट म्यान्डेट लिएर आएकाले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने धारणा थापाले राखे। पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको जानकारी पनि उनले दिए।