राजनीति

बागमतीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ



मकवानपुर, ४ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा बनेका थापालाई ६३ सांसदको समर्थन रहेको छ । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

ग्रहणसंगै उनले भने, ‘यो पद मेरो लागि सम्मानभन्दा बढी जिम्मेवारी हो, अधिकारभन्दा बढी कर्तव्य हो, र अवसरभन्दा बढी जनसेवाको संकल्प हो । बागमती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै, विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने यात्रामा आजैदेखि अघि बढ्नेछु ।’