विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान निजी अस्पताल भर्ना



काठमाडौँ, ५ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि उपचारका लागि इस्लामावादस्थित निजी अस्पताल सारिएको छ। 

खानको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उनको दल पाकिस्तान तेहरीक ए–इन्साफ (पीटीआई) ले उनलाई अस्पताल भर्ना गर्न माग गर्दै दायर गरेको याचिकामाथि सुनुवाइ गर्दै न्यायाधीश शाहिद वाहिद नेतृत्वको तीन सदस्यीय इजलासले मंगलबार सरकारलाई निर्देशन दिएको थियो ।

उक्त आदेशपछि खानलाई शिफा इन्टरनेसनल अस्पतालमा भर्ना गरी बहुविषय विशेषज्ञहरूको टोलीमार्फत स्वास्थ्य परीक्षण तथा उपचार गराउन भनिएको थियो। कडा सुरक्षा व्यवस्थाबिच ७३ वर्षीय खानलाई शुक्रबार सबेरै अस्पताल सारिएको छ। यद्यपि उनलाई कति समयसम्म अस्पताल राखिनेछ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।

‘सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलबाट इस्लामाबादको शिफा इन्टरनेसनल अस्पताल सारिएको छ,’ पीटीआईले जारी गरेको विज्ञप्तिमा पुष्टि गरिएको छ।