राजनीति

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन



काठमाडौँ, २२ भदौ । भोटेकोसी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।

मन्त्रालयका अनुसार धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा विद्युत् पुर्याउन नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ ।

यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन  केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ । रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने स्थानका थप एक हजार २६८ घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।