शैक्षिक

बाढी प्रभावित २५ बालबालिकालाई बुढानिलकण्ठ पाठशाला/कलेजले निःशुल्क पढाउने



काठमाडौँ, १ असोज । बुढानिलकण्ठ नगरपालिका-०९ धुम्बाराही स्थित  बुढानिलकण्ठ पाठशाला/कलेजले हालैको विनाशकारी बाढीबाट प्रभावित २५ जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

विद्यालयका अनुसार छनोटमा परेका विद्यार्थीहरूले नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन निःशुल्क प्राप्त गर्ने छन् । विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक गोपाल बहादुर महतले विपद्को यस कठिन घडीमा सामाजिक दायित्व बोध गर्दै राहत स्वरूप यो पहल गरिएको बताउनुभयो। “विपद्ले बालबालिकाको भविष्य रोक्नु हुँदैन, शिक्षाको निरन्तरता नै उज्ज्वल भविष्यको आधार हो,” महतले भन्नुभयो।

गत भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा परेका बालबालिकालाई लक्षित गर्दै विद्यालयले रसुवाका १०, नुवाकोटका १० र धादिङका ५ जना गरी कुल २५ जना विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विपद्का कारण सिर्जित आर्थिक तथा सामाजिक सङ्कटले बालबालिकाको पढाइमा अवरोध नपुगोस् भन्ने उद्देश्यले यो सहयोग उपलब्ध गराइने विद्यालय प्रशासनले जनाएको छ । थप जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ०१-४३७९३०९ वा ९८५१२७९२०९ मा सोधपुछ गर्न सकिने विद्यालयले जनाएको छ ।