राजनीति

१५० भन्दा बढी छात्रालाई आत्मरक्षासम्बन्धी तालिम सम्पन्न



काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसा विरुद्ध आत्मरक्षा तथा खेलकुद सम्बन्धी चार दिने तालिम सम्पन्न गरिएको छ ।

राष्ट्रिय महिला आयोगको आयोजनामा गोकणेश्वर नगरपालिकाको सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । आत्मरक्षा भनेको आफ्नो ज्यान, शरीर र सम्पत्तिलाई कुनै पनि आकस्मिक खतरा, हिंसा वा आक्रमणबाट सुरक्षित राख्ने क्षमता र उपाय हो । वरिपरिको अवस्थाबारे सचेत हुनु र खतरा आउनुभन्दा पहिले नै सतर्क हुनु हो । कानूनले प्रत्येक नागरिकलाई आफ्नो ज्यान बचाउनका लागि आवश्यक र उचित प्रतिकार गर्ने अधिकार दिएको छ ।

सोही लक्ष्यका साथ चार दिने उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो । आयोगका सदस्य कृष्णकुमारी पैडेल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख दिपककुमार रिसाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर रिसालले खेलकुद स्वास्थ्यको लागि मात्र नभई समग्र देशको विकास र समृद्धिको आधार भएको उल्लेख गर्नुभयो । खेलकुद क्षेत्रलाई आधुनिक तरिकाले विकास र परिस्कृत गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै उहाँले महिला हिंसा अन्त्यका लागि कानून आवश्यक छ, चेतना कानुनी अधिकार आवश्यक छ, तर त्यससँगै आत्मविश्वास र आत्मरक्षाको क्षमता पनि उत्तिकै आवश्यक रहेको औंल्याउनुभयो । उहाँले नगरपालिका क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शन तथा खेल्न जानुपरे आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै सदस्य खतिवडाले हरेक छोरी सुरक्षित, सक्षम र आत्मनिर्भर बनून्—यही हाम्रो अभियान भएको उल्लेख गर्नुभयो । महिलालाई हिंसा हुन नदिनु आोगको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चार दिनसम्म सञ्चालन भएको यस प्रशिक्षणमा १५० भन्दा बढी छात्राहरूले आत्मरक्षा तथा खेलकुदसम्बन्धी व्यावहारिक तालिम महिला आयोगबाट गरियो यो केवल केही दिनको प्रशिक्षण मात्र होइन—छोरीहरूलाई हिंसाको प्रतिरोध गर्न सक्ने आत्मविश्वास, साहस, अनुशासन र आत्मनिर्भरता प्रदान गर्ने महत्वपूर्ण अभियान हो । छोरीलाई कमजोर ठान्ने सोच बदल्नुपर्छ, छोरीलाई अवसर दिनुपर्छ, ज्ञानसँगै आत्मरक्षाको सीप दिनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी निमित्त सचिव रोसनी देवि कार्की, उपसचिव सीता अधिकारी, महेन्द्र मा।विका प्रअ, सहाय प्रअ, राष्ट्रिय खेलकुद परिषद प्रक्षिक प्रशिक्षक तथा बुद्धशान्ति नेपालका अध्यक्ष, जेन–जी प्रतिष्ठानका अध्यक्ष, लेखक, समाजसेवी तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो । तालिमका सहभागिता जनाएका छात्राहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।