राजनीति

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान



काठमाडौँ, १० असोज । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका निम्ति उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाइएको छ ।

सूचना पहिलोपटक प्रकाशन भएको मितिले १० दिनभित्र संघीय संसद्को सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

उजुरी दिँदा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद खुलाउन भनिएको छ । आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन समेत समितिले आग्रह गरेको छ । प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनुवाइ गरिने सार्वजनिक सूचनामा जनाइएको छ ।

यही असोज ८ गते बसेको समितिको बैठकबाट सुनुवाइको प्रक्रिया सुरु गर्ने निर्णय गरिएको थियो । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।

यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ । संसदीय सुनुवाइपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने समितिले जनाएको छ ।