काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी बेसिनमा पूर्व सूचना प्रणाली विस्तार गर्ने भएको छ ।
ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणका लागि दुई ओटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
उक्त श्वेतपत्र अनुसार सरकारले चार ओटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह समेत घटाउने योजना बनाएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र हिमताल विस्फोटको जोखिम बढ्दै गएको छ ।
सरकारले हिमताल विस्फोटबाट हुन सक्ने क्षति कम गर्न ग्लोफ सञ्जीवनी आयोजनामार्फत चार ओटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ ।
आयोजना अन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालमा जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने प्रस्तावित आयोजनाको कुल बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर रहेको छ। यसअघि दोलखाको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवलाई आधार मानेर नयाँ हिमतालमा पनि कार्यक्रम अघि बढाउने भएको छ ।
त्यस्तै, माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्न थप ६ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने योजना छ । सरकारले मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना स्थानीय तह र जोखिममा रहेका समुदायसम्म समयमै पुर्याउने लक्ष्य पनि राखेको छ।
मोबाइल एप, टोल–फ्री सेवा, सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमको प्रयोग गरी सूचना प्रवाहलाई प्रभावकारी बनाइनेछ ।










प्रतिक्रिया दिनुहोस्