राजनीति

‘ग्लोबल युनिकर्न’ बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ : प्रधानमन्त्री शाह



काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको बताएका छन् ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमै बनेका गेमिङ एपहरूले विश्वभर नाम कमाइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चालिरहेको बताए ।

संसारकै चर्चित ‘लुडो’ (करिब २०० मिलियन डाउनलोड) र ‘कलब्रेक’ गेम (१५० मिलियनभन्दा बढी डाउनलोड) नेपालीले नै बनाएको स्मरण गराउँदै उनले सयौँ युवाहरू अहिले पनि गेम विकासमा सक्रिय रहेको बताए । प्रधानमन्त्री शाहले गेमिङ डेभलपरहरूसँग छलफल गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको समेत उल्लेख गरे।

नेपालबाटै विश्वस्तरीय ‘ग्लोबल युनिकर्न’ (Global Unicorn) कम्पनीहरू स्थापना गर्न सहज वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले  आईटी (IT) उत्पादन र निर्यातको सम्भावनालाई मध्यनजर गर्दै कम्पनीहरूलाई सहजै आम्दानी गर्न र पुनः लगानी (Re-invest) गर्न प्रोत्साहनका लागि कर प्रणालीमा सहजता र नीतिगत सुधार गरिने, अन्तर्राष्ट्रिय आम्दानीका क्षेत्रमा रहेका कडा तथा परम्परागत नियमहरूलाई अझ खुकुलो र सहज बनाइने बताए।

 गेमिङ र समग्र आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न ‘गेम ज्याम’ (Game Jam), ‘स्टार्टअप इभेन्ट्स’ तथा ‘ह्याकाथन’ (Hackathons) जस्ता कार्यक्रमहरूमा लगानी गरिने र आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच निरन्तर र नियमित छलफलको वातावरण मिलाइने उनले बताएका छन्।