काठमाडौँ, १९ कार्तिक । नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागु गरेको छ ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार, चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो ।
उनका अनुसार, तिहारका समयमा देउसीभैलो, मेलापात तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न विशेष निगरानी बढाइएको छ । सम्भावित जोखिम भएका क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ । भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ । त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेक प्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ ।
पटका, भुइँचम्पा, झिरझिरे तथा अन्य विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले बताए । त्यस्ता गतिविधि शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो । क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ । त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्