राजनीति

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएको भन्दै मन्त्रालयले बनायो छानबिन समिति



काठमाडौँ, २० कार्तिक । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएको भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।

सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको हो । मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।

अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।