समाचार

एक युवक मृत अवस्थामा फेला



काठमाडौँ, २१ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको हो ।

आज बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्ने माझी शुक्रबार सांझ घरबाट निस्केका थिए ।

घटनास्थलमा नयाँ कपडासहितका झोला समेत भेटिएको र घटनापछि उनको श्रीमती सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।