Banner News

इजरायलमा नेतन्याहूलाई नै सरकारमा सामेल गराउन आइजेनकोट तयार



काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको बताएका छन् । 

राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्मेवारी औपचारिक रूपमा सुम्पेपछि आइतबार उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । जेरुसेलमस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा आइजेनकोटले नेतन्याहूका साथै चरम दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचलाई पनि सरकारमा स्वागत गर्ने संकेत गरे ।

‘यदि, लिकुड र रिलिजियस जियोनिस्ट पार्टीका सदस्यहरूले राष्ट्रपतिसँग भनेझैँ अहिले साँच्चै राष्ट्रिय एकताको समय हो भन्ने विश्वास गर्छन् भने, उनीहरूले मेरो नेतृत्वको सरकार र मैले अघि सारेका सिद्धान्तलाई समर्थन नगर्नुपर्ने कुनै कारण म देख्दिनँ,” उनले भने ।

नेतन्याहूका प्रमुख प्रतिस्पर्धीका रूपमा निर्वाचनमा उत्रिएका आइजेनकोटसँग नयाँ सरकार गठनका लागि ६ साता समय छ । समारोहमा उनले सर्वसाधारणको हितमा काम गर्ने र इजरायली समाजका सबै वर्गको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता जनाए ।

यसैबीच, राष्ट्रपति हर्जोगले नोभेम्बर ३ मा अमेरिकामा भएको मध्यावधि निर्वाचनपछि इजरायलले अनिश्चित राजनीतिक परिस्थितिको सामना गरिरहेको बताए । निर्वाचनमा इजरायलसँगको सैन्य सहयोगका आलोचक रहेका धेरै राजनीतिक व्यक्तिले सफलता पाएको सन्दर्भ उल्लेख गर्दै उनले अमेरिकामा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको संकेत गरे ।

आइजेनकोटले सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुखका रूपमा काम गरेका थिए । सन् २०२३ अक्टोबरमा गाजामा इजरायलको सैन्य आक्रमण सुरु भएपछि पहिलो आठ महिनासम्म उनी नेतन्याहूको युद्ध मन्त्रिपरिषद्मा पर्यवेक्षकका रूपमा सहभागी थिए ।

यद्यपि, नेतन्याहूलाई सत्ताबाट हटाउने उद्देश्यले अरब नेतृत्वका दलहरूले आइजेनकोटलाई समर्थन गरेका थिए । 

आइजेनकोटले अरब नेतृत्वका दलहरूसँग मिलेर सरकार बनाउने सम्भावना अस्वीकार गरेका छन् । उनीहरूसँग गठबन्धन गरेको भए ६७ सिट पुग्ने थियो । तर, दुई कट्टरपन्थी यहुदी दल—युनाइटेड टोराह जुडाइजम र शास—लाई आफ्नो पक्षमा ल्याउन सके उनले आवश्यक ६१ सिट पुर्‍याउन सक्छन् ।

सदनमा विश्वासको मत प्राप्त गर्न सकेमा ६१ सिटको समर्थनबिना पनि अल्पमतको सरकार गठन गर्न सकिनेछ । अलजजिरा