राजनीति

भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त: छानबिन समिति गठन



काठमाडौँ, २७ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ ।   

कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिलाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । 

सरकारले घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकेको जनाएको छ ।  सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेहरूको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।  

कात्तिक २६ गते बिहीबार बिहान काठमाडौँ–सर्लाही रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । 

छठ पर्व मनाउन घर जाने क्रममा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा र एक जना चालक कविलासी नगरपालिकाका हुन् ।   दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।