समाचार

गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ



काठमाडौँ, २९ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक छन् । शनिबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोको टोलीले उनको साथबाट ३ किलो ५ सय ग्राम थाइल्यान्डबाट ल्याइएको गाँजा बरामद गरेको छ ।

सलमान नयाँ दिल्लीबाट काठमाडौँ आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि थाइल्यान्डबाट आएको गाँजाको लगेज रिसिभ गरेर उनी विमानस्थलबाट बाहिरिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

थाइल्यान्डबाट गाँजा पठाएको विमान आउने समयमा एउटै समय मिलाएर उनी दिल्लीबाट काठमाडौँ आएर लगेज रिसिभ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपितमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।