समाचार

इन्स्पेक्टर केसी मृत फेला



काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् ।

आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् ।

हिजो बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाएर बन्द गरिएको र झ्यालसमेत बन्द थियो । झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए ।

तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइएका केसीलाई चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए । घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।

घटनास्थल तथा शव परीक्षणसम्बन्धी प्रारम्भिक अनुसन्धान पूरा गरी शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।