राजनीति

भारत भ्रमण फलदायी र ऐतिहासिक : मन्त्री पौडेल



काठमाडौँ, ८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो एक साता लामो औपचारिक भारत भ्रमण अत्यन्तै फलदायी र ऐतिहासिक भएको बताएका छन् । 

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गर्दै उनले नेपाल–भारत साझेदारीले नयाँ र सकारात्मक दिशा लिएको उल्लेख गरेका हुन् ।

भारतीय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतको निमन्त्रणामा प्रथम ‘एससिओ सिभिलाइजेसनल डाइलग फोरम’ मा सहभागी हुन मन्त्री पौडेल भारत गएका थिए । भ्रमणका क्रममा एससीओ फोरममा सहभागी मित्र राष्ट्रका समकक्षीहरूसँग पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानका सम्भावनाबारे गहन छलफल भएको मन्त्री पौडेलले जानकारी दिएका छन् । हिमाली सभ्यता, संस्कृति र पर्यावरण संरक्षणमा नेपालले लिइरहेको वैश्विक नेतृत्वमा अन्तर्राष्ट्रिय समर्थन र सहकार्यका लागि आग्रह गरिएको उनले बताए । ‘हिमाल अब नेपालको मात्र नभई समग्र विश्वकै क्लाइमेट हेरिटेज हो भन्ने विषयमा सहभागी राष्ट्रहरूलाई आश्वस्त पार्न सफल भएका छौँ,’ उनले भने ।

प्रधानमन्त्री वालेन्द्र शाहको राजकीय भारत भ्रमणलाई थप स्मरणीय र फलदायी बनाउन सहकार्य गर्ने अवसर पाएको उल्लेख गर्दै मन्त्री पौडेलले शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको साझा विकास दृष्टिकोण, सहज संवाद र आत्मीयता अत्यन्तै उल्लेखनीय रहेको बताए । शीर्ष नेतृत्वबिचको सुमधुर सम्बन्ध र विकासका साझा परिकल्पनाबिचको सामञ्जस्यले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बलियो आधार तयार पारेको उनको विश्वास छ ।